काठमाडौं। स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भदौ १२ र १३ गते शैक्षिक मेला हुने भएको छ । २ दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मेला आयोजना हुने भएको हो । बीबीए, एमबीए, एमएचएम, बीआईटी, बीआईएम, बीएचएम, बीटीटीएम, बीबीएम, बीएएसडब्लु, बीबीएस, बीएससी, सीएसआईटी, बिडेभ्स लगायत कोर्ष पढ्न चाहने विद्यार्थी मेलाबाट लाभान्वित हुनेछन् । मेलामा ४० भन्दा बढी कलेजहरु सहभागी हुने आयोजकले जनाएको छ ।
मेलाको मुख्य आयोजकहरुमा भिजन मिडिया इनकर्पोरेसन र एजुकेसन डट्कम छन् । ‘लर्न लोकल्ली फिट ग्लोबल्ली’ भन्ने मुख्य नाराका साथ ‘स्टडी इन नेपाल’ मेला आयोजना हुन लागेको हो । नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्थाहरुमार्फत विद्यार्थीले मेलामा निशुल्क आवश्यक परामर्श पाउने छन् । मेलाको मुख्य प्रायोजकमा आईआईएमएस कलेज रहेको छ ।