काठमाडौं। नेपाली काँग्रेसले आउँदो चुनावलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान आजदेखि शुरु गरेको छ । अभियान १५ दिनसम्म सञ्चालन हुनेछ ।
काँग्रेस प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रुपमा अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । अभियान तीन चरणमा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने छ ।
पहिलो चरणको यो अभियान आजदेखि भदौ २४ गतेसम्म चल्ने छ । अभियानले आगामी निर्वाचनमा कांग्रेसलाई मात्र नभएर गठबन्धनलाई नै बलियो बनाउने काँग्रेस नेताहरुले बताएका छन् । अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु सम्बन्धित जिल्ला पुगिसकेका छन् । केन्द्रीय प्रतिनिधिहरु सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरुमा सहभागी हुनुपर्नेछ ।
अभियानले कुन ठाउँमा पार्टीको अवस्था के छ र कसरी सुधार गर्न सकिन्छ भन्ने तल्लो तहसम्म पुगेर छलफल गर्ने भएकोले कांग्रेसप्रति जनताको अपेक्षा के रहेछ भनेर बुझ्ने र के गर्दा कांग्रेसप्रति जनताको विश्वास लिन सकिन्छ भन्नेबारे पनि बृहत् रूपमा छलफल हुने बताइएको छ ।
अभियानमा कांग्रेसको मात्र नभएर गठबन्धनमा रहेका अन्य दलको पनि अवस्था बुझ्ने र निर्वाचनमा कुन दललाई टिकट दिँदा जित्न सकिन्छ भन्ने विषय पनि उठाइने नेताहरुको भनाइ छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गठबन्धनको अवस्थाका साथै कांग्रेसको सम्भावनाका बारेमा अभियान केन्द्रित हुने बताउनुभयो । महरले स्थानीय तहको जस्तै यो अभियान पनि सबै वडासम्म पुग्ने बताउनुभयो । महरले कांग्रेसले र गठबन्धनले जित्ने हरेक उपायका बारेमा अन्य दलसँग छलफल हुने जानकारी दिनुभयो ।