काठमाडौं। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारी भएको छ। सशस्त्र प्रहरी बलका तर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको होृ।
जस अनुसार, सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित दुई वटा पेट्रोल पम्प र सशस्त्र प्रहरीका कार्यालयका १५ उपयुक्त स्थान गरी १७ ठाउँमा चार्जिङ स्टेशन स्थापना गरिनेछ। चार्जिङ स्टेशन दीर्घकालीन रूपमा कल्याणकारी कोष मातहत सञ्चालन हुनेछन्। प्राधिकरण र नेपाल प्रहरीबीच २५ ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्न यस अघि नै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०र६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जर राखिनेछन्। यसबाट ठूला बस सहित तीन वटा सवारी साधन एकसाथ चार्ज गर्न सकिनेछ।
प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेशनका सम्पूर्ण उपकरण खरीद तथा पूर्वाधार निर्माण र उपकरणको मर्मत तथा नियमित सर्भिसिङ गर्नेछ। सशस्त्र प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउनेछ र निर्माण भएपछि चार्जिङ स्टेशनको सञ्चालन तथा सुरक्षा गर्नेछ। चार्जिङ स्टेशन तेस्रो व्यक्तिरसंस्थालाई सञ्चालन गर्न दिन नपाउने व्यवस्था गरिएको छ।
प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न देशैभरि ५१ स्थानमा छिटो चार्ज गर्न सक्ने अत्याधुनिक चार्जिङ स्टेशन निर्माण गरिरहेको छ। प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिनेछ।