काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनु भएको छ । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै उहाँले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । यसको चेन इफेक्ट थुप्रैलाई परेको हुन्छ । ट्राफिक नियम अटेरी गर्नेलाई त निर्ममतापूर्वक कारबाही गर्नैपर्छ । यसबाट राजश्व पनि उत्पन्न हुन्छ र मान्छेको बानी पनि पर्छ ।’
मंगलबार राजधानीमा ट्राफिक प्रहरीलाई प्राविधिक उपकरण हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले ट्राफिक अनुशासन महत्वपूर्ण रहेको बताउनुभयो । मन्त्री झाँक्रीको निर्देशनमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत २० थान ह्वील लक र ८८ थान ट्राफिक लाइट प्रदान गरिएको छ ।