काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आवश्यकता र औचित्यका आधारमा महानगरले कार्यकारिणी शक्तिको प्रयोग गर्ने बताउनुभएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै उहाँले कानून नमान्ने मिचाहा वर्गलाई कानून मिचिरहन नदिने चेतावनी दिनुभएको छ । मेयर बालेनले डनगिरी देखाएको आरोप लागिरहेको बेला आवश्यकता र औचित्यका आधारमा बल प्रयोग गर्ने अख्तियारी महानगरसँग रहेको बताउनुभएको हो ।
‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानूनी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अब मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइ रहन दिने छैनौं।’ अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तनसम्बन्धी गैर कानूनी कार्यको थप निरन्तरता रोक्न अहिले आफूहरु मूलतः रोकथाम तथा नियन्त्रणसम्बन्धी कारबाहीको चरणमा रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
सकेसम्म मिचाहा प्रवृतिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प खुला रहेको उहाँले प्रष्ट पार्नुभएको छ ।