काठमाडौं । हरितालिका तीज व्रतको तयारी स्वरूप सोमवार दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै ४ दिने तीज पर्व आजदेखि शुरू हुँदैछ ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरूले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मंगलवारको व्रतका लागि पूर्व तयारी गर्छन् ।
विशेषगरी माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर २ भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।
महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।