काठमाडौं । रूकुम पश्चिममा पहिरोमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतिक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ। जेठी छोरी तिर्सना भने गम्भीर घाइते भएकी छिन् । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताउनुभयो ।
भेरी नगरपालिका १ मैतेस्थित माइतीमा दर खाएर घर फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए। पानी परेपछि उनीहरू छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए।
आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा माथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको थियो। आइतबार दिउँसो करिब १ बजेतिर उनीहरूलाई पहिरोले पुरेको थियो। पहिरोबाट निकालेर उनीहरूलाई अस्पताल लगिएको थियो।