गैरकानुनी रुपमा निर्मित संरचना हटाउन मेलम्चीमा नगरपालिकाकाे निर्देशन

सिन्धुपाल्चाेक । गैरकानुनी रुपमा बनेका संरचना हटाउन तथा बजार सरसफाइ गर्न निर्देशन दिँदै मेलम्ची नगरपालिकाले बजार अनुगमन गरेको छ । घर अगाडि बनाइएका भञ्याङ, व्यापारिक प्रयोजनका लागि हालिएका पालि तथा अन्य संरचना हटाउन निर्देशन दिइएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

जिल्लाको पश्चिमी भेगको सबैभन्दा ठूलो बजार हो मेलम्ची । मेलम्ची घुम्न दैनिक सयौँ पर्यटक पनि आउने गरेका छन् । पर्यटकलाई आकर्षित बनाउन र सफा, सुन्दर अनि सुरक्षित बजार निमार्णका लागि यस्ता संरचना हटाउन आग्रह गरिएको नगर प्रमुख तामाङले बताउनुभयो । 

व्यवस्थित बजार बनाउन बजारवासी, उपभोक्ता र स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने भन्दै पैदलयात्रु हिँड्ने बाटो मिचेर पसल राख्ने, जथाभावी टहरा बनाउँदा बजार अव्यस्थित तथा कुरुप बन्दै गएको स्थानीयवासीले बताएका छन् । नगर प्रमुख तामाङसहित उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, मेलम्ची–११ वडाध्यक्ष चन्द्रबहादुर तामाङ, बजार व्यवस्थापन तथा अनुगमन समितिका संयोजक एवं मेलम्ची–९ का वडाध्यक्ष किरणदीप खड्का, मेलम्ची नगर उद्योग वाणिज्य सङ्घ, लायन्स क्लब अफ लगायतका स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सहभागितामा बजार अनुगमन गरिएको थियो ।

मेलम्ची बजारमा नगरपालिकाका बासिन्दाबाहेक पाँचपोखरी, हेलम्बु, इन्द्रावती गाउँपालिकाका र नुवाकोटका नागरिक किनमेलका लागि आउँछन् । बजारमा व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय अभाव, पिउने पानीको समेत व्यवस्था नहुँदा सर्वसाधारणले भने सास्ती खेप्न परेको छ । मुख्य बजारमा यी संरचना भइदियोस् भन्ने उपभोक्ताको चाहना पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *