काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा सिटको बाँडफाँट सम्मानजनक रुपमा हुनुपर्ने बताउनुभएको छ ।
बुधबार युवासंघको मेची–महाकाली अभियानबारे जानकारी दिन काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकालाई नजर अन्दाज नगर्न चेतावनी पनि दिनुभयो ।
“राष्ट्रिय राजनीतिमा हामीले खेल्दै आएको भूमिकालाई कसैलाई नजर अन्दाज नगरोस् । जम्मै सिट आफूले लिने अनि उभ्रिएको सिट हामीलाई दिने कुरा हुन्छ भने हामीलाई स्वीकार्य हुन सक्दैन,” अध्यक्ष नेपालले भन्नुभयो । आफूले पाएको रिपोर्ट अनुसार कोही पनि आत्तिनुपर्ने आवश्यकता नरहेको उहाँको भनाइ थियो ।
आफूलाई फाइदा नभए कसैका लागि बलिदानका लागि तयार नहुने पनि उहाँको प्रष्टोक्ति थियो । सबैलाई फाइदा हुने ‘विन विन’ अवस्था नबने गठबन्धनको औचित्य नरहने अध्यक्ष नेपालले बताउनुभयो ।
निर्वाचनका लागि सबै पार्टीमा आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न गाह्रो हुनु स्वभाविक भएको बताउदै उहाँले त्यति बेला नेताहरूले मिलाउने आँट गर्नुपर्ने तर्क गर्नुभयो ।