ललितपुर महानगरपालिकाले दशैंपछि अनधिकृत संरचना हटाउने

काठमाडौं। ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेलाई समय दिएर हटाउन लागेको बताएको छ । सोहिअनुरुप महानगरपालिकाले दशैंपछि अनधिकृत संरचना हटाउने भएको हो ।

पूर्व सूचना र सुसूचित गराएर अवैध संरचना हटाउने समय दिँदै तोकिएको अवधिमा अवैध संरचना नहटाएमा कारबाही गर्ने नगरप्रहरी प्रमुख सिताराम हाछेथुले बताउनु भयो । त्यस्ता संरचनामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीलाई दशैंअगावै ठाउँको विकल्प खोजी गर्न आग्रह गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अनधिकृत संरचनामा व्यापार सञ्चालन गरिरहेका व्यापारीको पसलमा पुगेर हटाउन आग्रह गरिसकेका छौं ।’

अनधिकृत संरचना हटाउन बल प्रयोग नगरिने महानगरले जनाएको छ । ललितपुरका मेयर चिरिबाबु महर्जनले अनधिकृत संरचना हटाउन सडकमा आउनुपर्ने अवस्था नआउने बताउनु भयो । साथै, बेसमेण्ट पार्किङ खाली गर्न पनि दशैंसम्मको समय दिइएको छ । ललितपुर महानगरकै अधिनमा रहेको लगनखेलस्थित भवनमा नियमविपरीत बनाएको संरचना यसबीचमा हटाइएको छ । नगरप्रहरी टोलीले आज सडकपेटी ढाक्ने गरी बनाइएका संरचना हटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *