काठमाडौं। कोभिड–१९ महामारीले सबैभन्दा बढी प्रभाव पारेको पर्यटक आगमन क्रमशः लयमा फर्किँदै गएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमनको तथ्यांकअनुसार सन् २०२२ को (जनवरीदेखि अगस्ट) ८ महिनामा हवाईमार्गबाट तीन लाख २६ हजार ६ सय ६७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
अगस्ट महिनामा मात्रै ४१ हजार तीन सय चारजना विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन् । कोरोनाभन्दा अघि सन् २०१९ को अगस्ट महिनामा ७३ हजार आठ सय १४ जना पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारी सुरु भएपछि सन् २०२० को अगस्ट महिनामा दुई सय ५६ जना र सन् २०२१ को अगस्ट महिनामा पाँच हजार नौ सय १७ जना पर्यटक नेपाल आएका थिए ।
सन् २०१९ को अगस्टको तुलनामा २०२२ को अगस्टमा पर्यटक आगमनमा ५६ प्रतिशतले सुधार देखिएको छ । सन् २०२२ को जनवरीदेखि अगस्टसम्मको आठ महिनामा नेपाल आउने पर्यटकको संख्यामा ५५ प्रतिशतले सुधार भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।