काठमाडौं । शुक्रवारको शेयर कारोबार निस्प्रभावी भएको निकर्ष निकाल्दै नेप्सेले भदौपछि बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको नेपाल स्टक एक्सचेञ्ज नेप्सेको सञ्चालक समितिको बैठकले असोज पहिलो सातादेखि शुक्रवारको शेयर कारोबार बन्द गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।
‘बोर्डले निर्णय गरेको छ अब भदौभरी मात्रै शुक्रवार शेयर कारोबार हुन्छ भने असोज लागेपछिको पहिलो सातादेखि नै बन्द हुन्छ’, उनले भने । गत ६ जेठ गतेदेखि नेप्सेले शुक्रवार पनि शेयर कारोबार शुरू गरेको थियो । सरकारले १ जेठदेखि शनिवार र आइतवार सार्वजनिक बिदा दिएसँगै शुक्रवार शेयर कारोबार गर्ने निर्णय गरेको थियो ।
सरकारले एक महिना मात्रै लागू गरेको आइतवारको सार्वजनिक बिदा हटेपछि शुक्रवारको शेयर कारोबार भने भइरहेको छ । नेप्सेको निर्णयले ३ महिना मात्रै शुक्रवार शेयरको कारोबार हुने भएको छ ।
पछिल्लो समय शेयर बजार घटिरहेको अवस्थामा शुक्रवार थपिएको कारोबारले बजार घटाउन सहयोग पुगेको भन्दै लगानीकर्ताले नै बन्द गर्न माग गरिरहेका थिए । नेप्सेले भने उपयुक्त व्यवस्थापन नमिलेका कारण बन्द गर्ने निर्णय गरेको उल्लेख छ ।