काठमाडौं। काठमाडौंका ११ वटा सहकारी संस्थाले एक महिनाभित्र साधारणसभा गरी तीन महिनाभित्र संयुक्त साधारणसभामा जानेगरि मर्ज गर्ने सम्झौैता गरेका छन्। ७ वटा बहुउद्देश्यीय र ५ वटा बचत तथा ऋण सहकारी मर्ज हुने भएका हुन्।
बालाजुको मेगा ड्रिम, न्युरोडको शुक्रपथ, हनुमानढोका९एचडी०, पिपुल श्रोता, बागबजारको सर्वोत्तम, योजना बहुउद्देश्यीय र दुर्गा माश्रिता, नयाँबानेश्वरको सूर्यदेव, कलंकीको उषाकिरण र माउन्ट अपि, चाबहिलको लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण हुन लागेको हो।
एकीकरणपश्चात् संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था हुने भएको छ। प्रस्तावित संस्थाको अध्यक्षमा नरेन्द्र बिष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहनेछन्। सबै संस्थाको प्रतिनिधित्व रहने गरी ११ जनाको सञ्चालक समिति तथा ३ जनाको लेखा समिति रहनेछ। एकीकरणपछि संस्थाका सदस्य ४१ हजार पुग्छन्। ५ सय १० जना कर्मचारी हुनेछन्। ५५ करोड ५० लाख सेयर पुँजी हुनेछ। ५ अर्ब ६५ करोड बचत संकलन भई ६ अर्ब २५ करोड ऋण लगानी हुनेछ। ३१ करोड ५० लाख कुल कोष हिसाब र कुल सम्पत्ति तथा दायित्व ७ अर्ब ७५ करोड पुग्नेछ।