काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे र समकक्षी प्रधानसेनापति प्रभुराम शर्माबीच जंगी अड्डामा आज बिहान शिष्टाचार भेट भएको छ । भेटबारे सेनाका प्रवक्ता नारायण सिलवालले नेपाली सेनाको आधिकारिक ट्विटर ह्यान्डलबाट ट्विट गर्दै जानकारी दिनुभएको हो।
प्रधानसेनापति शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँचदिने भ्रमणमा रहनुभएका पाण्डेले यसअघि नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको छ। सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जंगी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो । उक्त अवसरमा उहाँले जंगी अड्डामा मूल भवन परिसरमा वृक्षरोपणसमेत गर्नु भयो । आजै जनरल पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्दै हुनुहुन्छ ।