समयमै रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीका अनुसार समयमै रासायनिक मल नल्याउने चार ठेकेदार कम्पनीमध्ये दुईवटा सिल्क मार्केट र सिल्क जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । अरू दुई कम्पनी, देश ट्रेडर्स र जेनट्रेडस ठेकेदार लाई कालोसूचीमा राख्ने पक्रिया अघि बढेको छ ।

सिल्क मार्केटले आर्थिक वर्ष ०७७र७८ मा पाँच हजार डिएपी मल ल्याउने सम्झौता भएको थियो भने सिल्क जेभी कम्पनीले २५ हजार युरिया मल ल्याउन आर्थिक वर्ष ०७७र७८ मा ठेक्का सम्झौता भएको थियो । तर, कम्पनीहरूले मल नल्याएपछि २१ दिने सूचना दिएर स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । कार्कीले भने, ‘हामीले स्पष्टीकरण सोध्दा चित्तबुझ्दो उत्तर नपाएपछि कृषि तथा पशुपक्षी मन्त्रालयमा सिफारिस पठाएका हौँ ।’

त्यस्तै, देश ट्रेडर्स र जेनट्रेडर्स कम्पनीलाई पनि कालोसूचीमा राख्ने पक्रिया अघि बढेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । कृषि सामग्री कम्पनीकै सिफारिसमा यी कम्पनीलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेको हो । आर्थिक वर्ष ०७८र७९ का लागि यी चार कम्पनीले एक लाख पाँच हजार टन मल ल्याउने ठेक्का पाएका थिए । तर, कम्पनीहरूले मल नल्याउँदा धान रोपाइँको समयमा किसानलाई मलको हाहाकार भएको थियो ।

अझै पनि युरिया मलको हाहाकार नै छ । कार्कीका अनुसार सिफारिस भएसँगै कम्पनीले राखेको १०–१० करोड रुपैयाँ धरौटी रकम जफत हुनेछ । कृषि सामग्री कम्पनीले १८ भदौमा गरेको निर्णयअनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । प्रधानमन्त्री कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुवै कम्पनीलाई कालोसूचीमा राख्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us