स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।
पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर नगरपालिकालाई समेटेर विकास निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कालीगण्डकी नदीको दायाँबायाँ ठूलो सहर बस्न सक्ने भएकाले कालीगण्डकी नदीमाथि आफू भौतिक तथा पूर्वाधार मन्त्री हुँदा पुल निर्माण गरेको र अरु पुल अहिले पनि निर्माणको क्रममा रहेको बताउनुभयो ।
ढिलै भए पनि एमसीसी पास भएको छ, यसले नेपालमा समृद्धि ल्याउन र विकास निर्माणमा सहयोगी हुने विश्वास उहाँको छ । स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनसम्म अहिले रहेको गठबन्धनलाई निरन्तरता दिनु आवश्यक रहेको उहाँको भनाइ थियो ।
“स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो ।”
वर्तमान सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेर अघि बढिसकेको तथा निर्वाचन तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने प्रधामन्त्री देउवाले स्पष्ट पार्नुभयो । चापाकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्व बोकेको पवित्र कालीगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग र सहकार्यबाट मात्रै सम्भव रहेको उहाँले बताउनुभयो ।