कर्मचारीहरुले हेजिङको विषयमा बुझेका छैनन् : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरुले नबुझेको बताउनुभएको छ ।

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले आफू उर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको गुनासो गर्नुभयो ।

उहाँले विगत लोमो समयदेखि नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भनेर नियमवाली बनाउने कुरा अगाडि बढेपनि राष्ट्र बैंक ब्यूरोकेसीलाई बुझाउन नसक्दा ठूलो लडाई लडेर अहिले मन्त्रीपरिषद्बाट हेजिङ सम्बन्धि नियमावली पास भएको जानकारी दिनुभयो । मन्त्री शर्माले नेपालको जलविद्युत क्षेत्रमा सबैभन्दा बढी हेजिङको आवश्यकता भएपनि हाईड्रो व्यवसायीहरुले नै चाहिँदैन भनेको बताउनु भयो । उहाँले विदेशी लगानी ल्याउन नेपालको वैदेशिक लगानी सम्बन्धि नीति निकै कसिला भएको बताउनुभयो । मन्त्री शर्माले राष्ट्र बैंक, अर्थ मन्त्रालय, वन मन्त्रालयको नीति कसिलो भएको बताउनुभयो । उहाँले वैदेशिक लगानी सम्बन्धि कसिलो नीतिले देश विकास हुन नसक्ने भन्दै नीति र सोचमा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, मन्त्री शर्माले पहाड खनेर ढुङ्गा बिक्री गरौं भन्ने प्रश्ताव गर्दा देश बिक्री गरेको आरोप लाग्ने गरेको बताउनुभयो । उहाँले आफ्नो देशमा भएको स्रोत प्रयोग नगरी कुनैपनि देशमा लगानी बढ्न र पुँजी निर्माण गर्न नसक्ने दाबी गर्नुभयो ।

मन्त्री शर्माले नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) मर्जमा जान नमानेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले संस्थागत वा व्यक्तिगत स्वाथ्र्यको लागि मर्जमा जान नमान्नु राम्रो नभएको बताउनुभयो । मन्त्री शर्माले संस्थाको सीइओ एउटै हुने भएकाले मर्जरमा जान नमान्नु पुरानो मानसिकता भएको टिप्पणी गर्नुभयो । उहाँले निफ्राले पूर्वाधार विकासमा प्रभावकारी भुमिका खेलेर लगानीको व्यवस्था गर्ने क्षमतामा वृद्धि गर्नु आवश्यक भएको बताउनुभयो ।

मन्त्री शर्माले नेपालमा खडा भएका लगानी कोष, सञ्चय कोष,कर्मचारी सञ्चय कोष जस्ता संस्थामा भएको पैसा पूर्वाधारमा लगानी नगरेर ब्याज खाने गरेको आरोप लगाउनुभयो । उहाँले कोषहरुमा भएको अर्ब रकम बैंकमा जम्मा गरेर ब्याज खाने तर पूर्वाधारमा लगानी नगर्नाले पूर्वाधारको विकास हुन नसकेको भन्दै अब त्यस्ता संस्थाहरुमा रहेको रकम पूर्वाधारमा लगानी लगाउनुपर्ने बताउनुभयो ।

त्यस्तै अर्थमन्त्री शर्माले उर्जामन्त्री पम्फा भुसाल र विद्युत प्राधिकरणका कार्यकारी निदेशक कुलमान घिसिङको विद्युत धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानलाई संकेत गर्दै प्रश्न उठाउनुभयो । उहाँले विद्युत बेच्ने भन्दा पनि प्रयोग गर्न सक्नुपर्ने भन्दै विद्युत बेच्ने कुरामा गर्व गर्नु नपर्ने बताउनुभयो । मन्त्री शर्माले अब विद्युत बेच्ने युग गएको जिकिर गर्नुभयो । उहाँले विद्युतबाट हाइट्रोजन,एमोनिया बनाउने प्रविधि आएको भन्दै विश्वमा ५ जीमा विकास भएको भएपनि नेपालले २ जीका कुरा गरिरहेको बताउनुभयो ।

मन्त्री शर्माले पूर्वाधार निर्माण देश र राष्ट्रका लागि भन्दा पनि व्यक्तिगत फाइदा हेरर गर्ने प्रवृत्ति नेपालमा हाबी भएको बताउनुभयो । उहाँले नेपालमा वचत गर्ने संस्कार नहुँदा समेत ठूला पूर्वाधारमा लगानी गर्न स्रोतको अभाव भइरहेको बताउनुभयो । मन्त्री शर्माले नेपालमा वैदेशिक लगानीको लागि कानून नुहँदा अपेक्षाअनुसार विदेशी लगानी आउन नसकेको बताउनुभयो । उहाँले पूर्वाधार विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत सोचले पूर्वाधार विकास गर्न खोज्दा समस्या रहेको बताउनुभयो । उहाँले पूर्वाधार विकासमा सरकारका मन्त्री,सरकारी कर्मचारी, लगानीकर्ता र जनताको सोचमा नै समस्या रहेको भन्दै पूर्वाधार विकास गर्ने सोचलाई बदल्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले नेपालमा कस्तो पूर्वाधार बनाउने भन्ने नीति नभएको बताउनुभयो । उहाँले सरकारसँग कुन पूर्वाधार आवश्यक छ, कस्तो पर्यटन पूर्वाधार चाहिएको हो, कुन विमानस्थल आवश्यक छ भन्ने योजना नहुनु राजनीतिक समस्या भएको बताउनुभयो ।

मन्त्री शर्माले राज्यको पूर्वाधार विकास गर्ने व्यवस्थापन राम्रो नहुँदा पूर्वाधार निर्माणको काम समय सम्पन्न नहुने समस्या रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *