सुधार केन्द्र !

गोमा सिटौला । म एकल महिला भए पनि मैले मेरो दुवै छोराछोरीलाई संघर्ष गरेर छोरीलाई सफल गायिका र छोरालाई सफल मोडेल बनाएकी थिएँ । बाहिर निस्किँदा छोरीका फ्यानहरूले भन्दा पनि छोराको फ्यानहरूले, विशेषगरी भर्खरका केटीहरूले दिग्दार बनाएका थिए । देख्नेबित्तिकै कोहीकोही सासू आमा भन्दै गोडै ढोगूँला जस्तो गर्थे ।

दिनहुँ घरमा छोराका केटी फ्यानहरूले घर घेर्थे । मलाईचाहिँ यिनीहरूको अभिभावकले निगरानी नगरेकोमा दु:ख लाग्थ्यो । दुवै छोराछोरी प्रोगामका लागि विदेश गएका थिए । त्यही बेलामा एकजना अन्दाजी १६ वर्षकी केटी आएर बुहारी बनाउन आग्रह गरिन् । मैले उनको अल्लारेपनलाई बुझेर मायाले उनको गाला मुसार्दै सम्झाएँ ;

“अहिले तिम्रो लक्ष्य बनाउने समय हो, यस्तो पागलपनमा फस्नु हुँदैन, बिहे भन्ने कुरा बीस वर्षपारि मात्रै हो नानू ।

´´“बिहे २० पारि नै गरौँला अन्टी, बरु लिभिङ्ग टुगेडरमा भए पनि बस्छु । मैले १२ वर्षको उमेरदेखि मन पराएको हो भनेर रुन्चे पारामा भनिन् ।

´´मैले आत्तिँदै भनेँ, “१८ वर्षभन्दा कमको केटीसँग सहमतिमै भए पनि कानुनले बलात्कार ठहर्छ ।

´´मुण्टो हल्लाउँदै हुँदैन नानू, आफ्नो घर जाऊ भनेँ ।उनले हत्तपत्त भनिन् “युरोपियन मुलुकमा १३-१६ वर्ष, अस्ट्रेलिया, ईटाली, जर्मनी, पोर्चुगलमा १४ वर्ष, एङ्गोला र फिलिपिन्समा १२ वर्ष, जापानमा १३ वर्ष, नर्थ अमेरिकामा १५ वर्ष, साउथ अमेकाको धेरै देशमा १४ वर्षलाई यौन हद वर्ष तोकिएको छ ।

हाम्रो नेपालमा चै किन यस्तो तर नबुझेको कुरो आन्टी !यौन सक्षमतालाई कानुनको धाराले मापन गर्ने कि मेडिकल जाँचले ?कतिपय टिनएजरका रोगहरूलाई यौनले निको बनाउने कुरा मैले सुनेकी पनि छु ।´´ म अलमलमा परेँ । के भन्ने, के भन्ने भयो । हुनत मैले पनि १५ वर्षमै छोरा जन्माएकी थिएँ ।

केटीलाई फकाइफुलाइ घर पठाएँ । फेरि अर्को दिन हात काटेर मेरो छोराको नाम लेखेको देखाउँदै `आन्टी प्रदायकले मेरो फोन नि उठाउँदैन, सबैमा मलाई ब्लक गर्यो । हामीले बडी सियर पनि गरिसकेका छौँ, हजुरको फोनबाट गरेर भन्दिनू न ! नत्र म रेप केसमा हालिदिन्छु´ भनिन् । म छाँगाबाट खसे झै भएँ। हत्तपत्त छोरालाई फोन लगाएँ । नानीको सब कुरा बेलिविस्तार लगाएँ ।

“ह्या ! मामु मलाई क्या डिस्टर्ब गरी, यता प्रोग्राम हुँदै छ तर म जतिखेर पनि उसैसँग बोल्नु पर्ने रे जति सम्झाउँदा पनि नलागेपछि मैले ब्लक गरेको हो” छोरोले भन्यो । उसलाई थाहा नै थिएन तिनी नानी मैसँग छिन् भनेर । बाबुले फ्याट्ट भनिहाल्यो “मलाई त्योसँग अब कुनै इन्ट्रेस्ट छैन ´´ भन्दै फोन काटिहाल्यो ।

मैले केटीलाई सम्झाउन नपाउँदै रिसले चुर भएर हिँडिन् तर भोलिपल्ट सञ्जालभरि छोराको फोटोसहित बलात्कार मुद्दा परेको भाइरल भइसकेको थियो । जेल परे त भेटुला तर उतै विदेशमा बदनाम सहन नसकेर आत्महत्या गर्छ कि भन्ने ठूलो डर थियो । नभन्दै पुलिस पनि आयो । तपाईंको छोरालाई `अन्डर एज रेप केस´को मुद्दा परेको छ भनेर घर खोजतलास गर्यो । मर्नु भन्दा बरु बहुलाउनु निको ठानेर मन दह्रो पारेर पुलिसलाई उल्टै प्रश्न गरेँ – गोप्य तरिकाले अनुसन्धान नगरी मेरो छोरा अभियुक्त नठहर्दै मिडियामा समाचार छापेर पुलिस प्रशासनले चै मेरो छोराको बलात्कार गर्यो ।

पुलिस प्रशासन,मिडियालाई उजुरी गर्न कहाँ जाऊ ? यदि उसले विदेशमै आत्महत्या गर्‍यो भने यसको सम्पूर्ण जिम्मेवार पुलिस प्रशासनले लिनुपर्छ ।यदि भाेलि न्यायपालिकाले मेरो छोरोलाई निर्दाेष साबित गर्याे भने उसकाे मानमर्दनकाे क्षतिपूर्ति पिडित भनिएकी नाबालिका, नेपाल सरकार, नेपाल प्रहरी वा नेपालकाे अध्यागमन विभाग कसले तिर्ने ?जेल पनि एउटा सुधारकेन्द्र नै हो ।

एक अपराधी भोलि जेलमा सुध्रिएर निस्केपछि फ़ेरि कहाँ गएर बाँच्ने?खोइ मानव अधिकार???औँला ठड्याउँदै पुलिसलाई फेरि भनेँ – मेरो छोराले गल्ती गरेको रहेछ भने जेल हाले मलाई कुनै आपत्ति हुने छैन।

गल्तीको सजाय पाउनै पर्छ तर मलाई बाटोमा देख्नेबित्तिकै सासुआमा भनेर अँगालो हाल्ने, अर्काको नाम रगतले लेख्ने, उमेर नपुग्दै बार, डिस्को र नाइट क्लब धाउने यी नाबालिकाहरूलाई पनि सुधार केन्द्रमा हाल्ने कानुन बनाउ त्यो भन्दा पहिले अनुसन्धान नै नगरी उजुरीको भरमा दुनियाँको सामु अपराधी घोषणा गर्ने जथाभावी समाचार चुहाउदै हिड्ने पुलिस प्रसासनलाई झन् ठूलो सुधार केन्द्रको खाँचो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us