‘सुनकोशी मरिण डाइभर्सन’ अन्तर्गत नदीमा बाँध निर्माण कार्य सुरु

सिन्धुली । सिन्धुलीमा संचालन भइरहेको राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी मरिण डाइभर्सन’ अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण कार्य सुरु भएकाे छ ।

सिन्धुली र रामेछाप जिल्लाको सीमानामा पर्ने त्रिवेणीघाटबाट सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेण्ड पानी उक्त बाँध मार्फत मरिण नदीमा लगिने भएकाे हाे । पानी लानका लागि १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुने भएकाे छ ।

सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाका अनुसार सुनकोशी नदीमा ६४ मिटर हेडको सदुपयोग गर्दै विद्युत उत्पादन गरिने भएकाे छ । विद्युत उत्पादनपछि निस्केको पानीलाई मरिण खोला तथा बागमती नदी हुँदै बागमती सिंचाई योजनाको पूर्वी तथा पश्चिम नहरबाट विभिन्न क्षेत्रमा सिंचाइका लागि वितरण गरिने भएकाे छ ।

बागमती सिंचाई योजनाको पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६,६०० हेक्टर र ४५,४०० हेक्टर गरी जम्मा १,२२,००० हेकट्र जमिनमा वर्षैभरी सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ । सुनकोशी मरिण बहुउदेश्यीय आयोजनाको कार्यान्वयन राष्ट्रिय गौरवको साथ रुपान्तरणकारी आयोजनाको रुपमा तीब्र गतिमा अघि बढेको हो ।

साेही आयोजना अन्तर्गत सिन्धुली जिल्लाको खुर्कोटदेखि लगभग २ किलाेमिटर माथि सुनकोशी नदीमा १ सय ५८ मिटर लामो व्यारेज,१ सय ५० मिटर लामो डिसेन्डिङ्ग बेसिन, टनेल इन्ट्री पोर्टल, ५.५ मिटर व्यास भएको १३.३ किमि लामो सुरुङ, सर्ज पण्ड स्विच यार्ड,३१ मेगावाट क्षमताको विद्युतगृह र ४४ किलोमिटर लामो विद्युत प्रशारण लाईन निर्माण गरिने छ ।

आयोजनाको विद्युत गृह, सर्जपण्ड र स्विच यार्ड कमलामाई नगरपालिका २ कुसुमटारमा अवस्थित रहेको छ । साेही आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाईन अन्तर्गत धनुषा जिल्लाको ढल्केवरमा जोडिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *