कैलाली । सुदूरपश्चिममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले जनही १ लाख दिने निर्णय गरेको छ । प्रदेश विपद कार्य समितिको बैठकले मृतकका परिवारलाई १ लाख र २० हजार थप क्रिया खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।
सोमवार प्रदेशको आन्तरिक मामिला तथा कानुन मान्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले घर क्षति भएका परिवारलाई जनही ५० हजार क्षतिपुर्ति दिने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणवहादुर रावलले जानकारी दिए ।
यस्तै पछिल्लो समयमा डेंगुको समेत प्रकोप बढेकाले सोको नियन्त्रणका लागि १० लाख बराबरको झुल खरिद गर्ने र पीडितहरुलाई राहत दिनका लागि १०/१० लाखको म्याट र त्रिपाल खरिद गर्ने निर्णय गरेको छ । पीडितहरुलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराउनका लागि १ करोड रुपैयाँ स्थानीय तहलाई दिईने निर्णय समेत भएको मन्त्री रावलले जानकारी दिए ।
सुदूरपश्चिममा गत शुक्रबार आएको बाढी पहिरोमा परी २६ जनाको मृत्यु भएको छ। अछाममा आएको बाढी पहिरोमा परी २३ जनाको मृत्यु भएको छ । कैलालीमा तीन जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
बाढी र पहिरोमा परी तीन जिल्लामा चार हजार पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कैलालीमा चार हजार ५०, कञ्चनपुरमा चार सय २० र अछाममा ३४ परिवार विस्थापित भएका छन् ।