११.२२ अंकले बढ्यो नेप्से

काठमाडौं। गत एक सातादेखि निरन्तर घटिरहेको सेयर बजार एक सातापछि आज (बुधबार) बढेर बन्द भएको छ । नेप्से परिसूचक बढ्दा कारोबार रकम भने खस्किएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ विन्दुमा पुगेको छ । नेप्से ०.६१ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि २.०१ अंकले बढेर ३६०.८८ विन्दुमा पुगेको छ ।

बैंकहरूको ब्याजदर बढ्ने निश्चित भएदेखि नै बजार उच्च अंकले घटेको थियो । ४ कारोबार दिनमा नै बजार १५० अंक भन्दा धेरैले घटिसकेको थियो । अहिलेको ब्याजदर नै उच्च भएको र कार्तिकमा बैंकहरूले कर्जाको ब्याजदर थप बढाउँदा ब्याजदर उच्चतम सीमामा पुग्ने र यो लेभल भन्दा नबढ्ने बरू घट्न सक्ने आँकलन अधिकांश लगानीकर्ताहरूले गरेका छन् । त्यसैले, बजारमा प्यानिक सेल आइरहँदा कतिपय लगानीकर्ताहरूले खरिद बढाउँदा बजारमा केही सुधार देखिएको हो ।

कूल २२६ वटा कम्पनीको २५ लाख ३१ हजार ३ सय ७० कित्ता सेयर खरिदबिक्री हुँदा ७२ करोड १२ लाख ५९ हजार ८ सय ८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *