काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनहरु न्यायाधीश डा मनोज शर्माको इजलासमा परेका छन्।
नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी सर्वोच्चमा दर्ता भएका निवेदनहरु न्यायाधीश शर्माको इजलासमा परेका हुन्।
पाँच फरक रिट निवेदनहरु एकसाथ डा शर्माको एकल इजलासमा पेशी तोकिएको छ। ३० वटाभन्दा पछि पालो परेकाले निवेदनहरुको सुनुवाइ हुने सम्भावना कम देखिएकाे छ।
राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाविपरीत प्रमाणीकरण नगरेपछि अधिवक्ता सुनीलरञ्जन सिंह, अधिवक्ता सागर बराल, अधिवक्ता सुनीलकुमार यादव, मोरङका देव शर्मालगायतले परमादेश माग गर्दै रिट निवेदन दायर गरेका थिए।
संघीय संसद्को दुवै सभाबाट पारित भएर २० भदौमा शीतलनिवास पुगेको विधेयक ४ असोजसम्म प्रमाणीकरण गर्नुपर्ने समयसीमा थियो।