मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेल क्वालालम्पुर प्रस्थान

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गर्नुभएको छ ।

मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गर्नुभएको हो । मलेसियामा राजदुत पौडेलले राजा अब्दुल्लाह समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुहुनेछ ।

दुई लाख भन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दुतावास लामो समय राजदुतविहिन रहेको थियो । दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदुत पौडेलले बताउनुभयो ।

तलब सुविधा, सीप विकास, आवास, उपयूक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उहाँको भनाइ छ । मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिइ श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकोले त्यसतर्फ प्रयास गरिने उहाँले बताउनुभयो ।

मलेसियामा विभिन्न पेशामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । सन् २०१८ मा भएको श्रम सम्झौता नविकरणलाई पनि उहाँले प्राथमिकता दिनुभएको छ ।

नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्वन्ध बलियो बनाउने बताउनुहुँदै उहाँले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनहरुको मलेसियाका बजारमा प्रवर्द्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कुटनीतिमा समेत जोड दिने उहाँले बताउनुभयो ।

नेपाल-मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई समेत प्राथमिकता दिने उहाँको भनाइ छ । पौडेललाई चैत २४, २०७८ मा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उहाँ मलेसिया प्रस्थान गर्नुभएको हो । नेपाल र मलेसियाबीच जनवरी १, १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us