नेपालले फेरि पनि युक्रेनको पक्षमा

काठमाडौं । युक्रेनमाथि एक महिनादेखि रूसले गरिरहेको आक्रमणमा नेपालले फेरि आफूलाई युक्रेनका पक्षमा उभ्याएको छ।

बिहीबार राति राष्ट्रसंघको महासभामा युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले पक्षमा मतदान गरेको छ । राष्ट्रसंघका विभिन्न एजेन्सीमा भएका मतदानमा नेपाल युक्रेनको पक्षमा उभिँदै आएको छ।

महासभाको ११ औं आपतकालीन विशेष सत्रमा युक्रेनमा मानवीय सहायतासम्बन्धी प्रस्ताव दुई तिहाइ बढी सदस्यहरूको मतबाट पारित भएको छ। गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष सैन्य कारबाही भन्दै युक्रेनी भूमिमा सेना पठाएपछि नेपालले हरेक मुलुकले अर्को मुलुकको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएको थियो।

राष्ट्रसंघका १९३ सदस्यमध्ये प्रस्तावको पक्षमा १४० भोट आएको थियो भने विपक्षमा पाँच भोट परेको थियो।

राष्ट्रसंघको महासभाले युक्रेनमाथि रूसी आक्रमणको आलोचना गर्दै प्रस्ताव पारित गरेको यो दोस्रो पटक हो। पहिलो पटकको मतदानमा पनि नेपाल युक्रेनको पक्षमा उभिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us