आज सोह्र श्राद्ध विसर्जन गरिँदै

काठमाडौं । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ ।  असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ ।

पितृपक्षका अवसरमा धार्मिक महत्वका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दैछन् । 

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ (दिवङ्गत परिवारजन) त्रिप्त हुन्छन् भन्ने विश्वासले हिन्दू धर्मावलम्बी आज तीर्थस्थलमा श्राद्ध गर्न पुगेका हुन् । यजमान (श्राद्ध गर्ने कर्ता)को भीड बढेसँगै पुरोहित (कर्मकाण्डि ब्राह्मण)लाई पनि भ्याइनभ्याइ परेको छ । कर्तापिच्छे गोत्र, नाम र पितृहरूको फरक–फरक सङ्कल्प पढ्नुपर्ने भएकाले पुरोहितलाई पनि भ्याइनभ्याइ परेको हो ।

असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्धसमेत) का श्राद्ध गरिने भएकाले यसलाई ‘सोह्रश्राद्ध ’ पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन (पिताको भए अष्टमी र माताको भए नवमी तिथिमा गर्नपर्ने कर्मकाण्डी विधान पनि छ) गरिने भएकाले पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका गरिन्छन् । यद्यपि औँसीकै दिन पितृपक्ष समाप्त भए पनि अन्तिम श्राद्ध मातामह (मावली हजुरबा)को श्राद्ध भने असोज शुक्ल प्रतिपदामा गरिने विधान रहेको छ । 

दशैँ, तिहार र छठजस्ता महान् चाडबाडअघि पितृहरूलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराका कर्मकाण्डका ज्ञाता बताउँछन् । वर्षका अन्य बेला गरिने  शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने  कामना गरिएजस्तै दशैँ, तिहार र छठपर्वको मुखमा पितृहरूलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने जानकारहरु बताउँछन् । 

हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यस पक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us