काठमाडौं । आसन्न ४ मंसिरमा हुने प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू हुने भएको छ ।
राजनीतिक दलले आइतबार आचारसंहिता इमानदारीपूर्वक पालन गर्ने प्रतिबद्धता जनाएपछि आयोगले लागू गर्ने समय तोकेको हो । प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १३ दलले आइतबार आचारसंहिता पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन आयोगले आचारसंहिता पालनाका लागि प्रतिबद्धता लिएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलहरूका चासो सम्बोधन हुने गरी मंगलबारबाट आचारसंहिता लागू हुने बताउनुभयो । मंगलबार नै निर्वाचन खर्चबारे निक्र्यौल गर्न बैठक राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दलहरूको अनुरोधमा आयोगले खर्चको सीमा बढाउने तयारी गरेको छ ।
यसैबीच प्रधानमन्त्री र मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा चुनाव प्रचार गर्न पाउने भएका छन् । दलका प्रतिनिधिहरुसँगको छलफलपछि आयोगबाट अनुमति लिएर मन्त्री र प्रधानमन्त्रीले अब चुनाव प्रचारमा जान पाउँने थपलियाले बताउनुभयो । तर चुनावी प्रचारमा सरकारी स्रोत र साधनको प्रयोग भने गर्न नपाउने उहाँले प्रष्ट पार्नुभयो ।
प्रमुख आयुक्त थपलियाले ४८ घन्टा निषेध व्यवस्था भएको मदिरालाई १५ दिन प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई चिठी लेखिने बताउनुभयो । संसदीय समितिले गृहलाई १५ दिन बन्देज लगाउन निर्देशन दिइसकेको र निर्देशन कार्यान्वयन गराउन आयोगले अनुरोध गर्ने थपलियाले बताउनुभयो ।