नेपालगञ्ज । दशैं सुरु भएसँगै घर फर्किने नेपालीको नेपालगञ्जस्थित जमुनाहनाकामा घुइँचो लागेको छ । दशैं मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । नेपालगञ्जस्थित जमुनाहनाका भएर दैनिक पाँच हजार व्यक्ति स्वदेश भित्रिरहेको जमुनाह प्रहरी चौकीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार, अहिले भारततर्फ जानेभन्दा स्वदेश फर्किनेको सङ्ख्या धेरै छ । दशैं , तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन्।
लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन् । मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीका समयमा भने स्वदेश फर्किने गर्छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमूलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या अधिक छ ।