बर्दिया। कर्णाली नदीमा सोमबार राति बाँध फुटेर बर्दियाको गेरुवा गाउँपालिका- १ सर्खोलमा बाढी पसेको छ । बाढी कुलोमा पसेपछि गाउँ डुबानमा परेको हो । राति बाँध फुटेको जानकारी पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलगायत जनप्रतिनिधि उक्त स्थानमा पुगेका थिए ।
राति भएका कारण बाढी रोक्ने प्रयास असफल भएको राजापुर नगरपालिकाका प्रमुख दीपेश थारुले बताउनु भयो । कर्णाली नदी व्यवस्थापन आयोजनाले यहाँ अस्थायी तटबन्ध निर्माण गरेको थियो । बाढीको वेग बढी भएकाले अस्थायी बाँध भत्किएको स्थानीयले बताए ।
राति अबेरसम्म यहाँका ६५ भन्दा बढी परिवार थाकथलो छाडेर अन्यत्र सुरक्षित स्थानमा स्थान्तरण भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनु भयो । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले त्यस क्षेत्रमा भएको क्षतिको विवरण लिने काम भइरहेको बताउनु भयो ।
बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका १ हजार ४ सय घर डुबानमा परेका छन् । डुबान पीडित परिवार सुरक्षित आश्रयस्थलमा शरण लिएका छन् । अहिले पनी परिरहेकाले बाढी र डुबानको क्षतिको यकिन विवरण आउन सकेको छैन । तटीय क्षेत्रका सयौं बिघामा पाकेको धानवाली डुबानमा परी क्षति भएको छ ।