कास्की। गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको नवौँँ राष्ट्रिय खेलकुदमा सुरक्षा प्रबन्धलाई विशेष महत्त्वका साथ सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने गरी सुरक्षा कार्ययोजना बनाइएको छ । शुक्रबारदेखि कात्तिक ३ गतेसम्म मुख्य गरी पोखरा केन्द्रित भएर आठ जिल्लामा हुने प्रतियोगितामा आठ हजार हाराहारी खेलाडी, प्रशिक्षक र अफिसियल गरी दश हजार हाराहारीमा सहभागिता हुने भएपछि सुरक्षालाई चुस्त बनाउन यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खेलाडी, दर्शक र पाहुनाले सुरक्षाको पूर्ण अनुभूति गर्ने गरी सुरक्षालाई ध्यान दिइएको छ । सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई त्रुटिरहित ढङ्गले खेलको सुरक्षार्थ खटिन र सम्भावित दुर्घटना तथा सुरक्षा चुनौतीलाई दृष्टिगत गरी समयमै खबर गराउन निर्देशन गरिएको प्रहरीले जनाएको छ । सबै खेलस्थल, उद्घाटन तथा समापन समारोह, रङ्गशालाको प्रवेशद्वार, खेलाडी बास बसेको होटललगायतका स्थलमा विशेष उपकरणसहितका सुरक्षाकर्मी परिचालन गर्ने गरी संयुक्त सुरक्षा योजनाअनुसार सुरक्षा प्रबन्ध मिलाइएको नवौँँ राष्ट्रिय खेलकुद सुरक्षा उपसमितिका संयोजकसमेत रहनुभएका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले बताउनुभयो ।
प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसहित नेपाली सेनाले समेत सुरक्षा दिनेछन् । खेलस्थल र रङ्गशालामा जनपथ र सशस्त्र प्रहरी सँगसँगै परिचालित हुनेछ भने सेनाले अतिविशिष्ट व्यक्तिको सवारीमा सुरक्षा प्रबन्ध गर्नेछ । प्रहरी प्रमुख जोशीका अनुसार प्रतियोगिताको उद्घाटनदेखि समापन समारोहसम्मका सात दिन प्रतियोगिता हुने आठ जिल्लामा दैनिक एक हजार एक सय जनपद प्रहरी र दुई सय सशस्त्र गरी एक हजार तीन सय प्रहरी परिचालन हुनेछन् । यसबाहेक आवश्यकता अनुसार थप प्रहरी परिचालन गर्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको छ ।