काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न ४ बजे पोखरा रङ्गशालामा प्रतियोगिताको उद्घाटन गरेपश्चात् नवौं राष्ट्रिय खेलकूद आजदेखि गण्डकी प्रदेशको राजधानी पोखरा लगायतका विभिन्न जिल्लामा औपचारिक रुपमा शुरू हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। उद्घाटन समारोहसँगै आज प्रतियोगिताका विभिन्न आठ खेल शुरू हुँदै छन्। कतिपय खेल यसअघि नै शुरू भइसकेका छन्।
टेनिस, बक्सिङ, भलिबल पुरुष, सफ्टटेनिस, बास्केटबल पुरुष र साइक्लिङ पोखरा रङ्गशालामा सञ्चालन हुँदै छन्। त्यस्तै, तनहुँमा महिला बास्केटबल, म्याग्दीमा तेक्वान्दो र सुटिङ काठमाडौंमा हुनेछ। राष्ट्रिय खेलकूदका ३६ खेलमध्ये क्रिकेट महिला, फूटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्यान्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की र गल्फका यसअघि नै शुरू भइसकेका छन्।
अहिलेसम्मको पदक तालिकामा विभागीय टोली नेपाली सेनाले अग्रता लिएको छ। सेना चार स्वर्ण, ६ रजत र सात कास्य पदकसहित शीर्षस्थानमा रहँदा बागमती प्रदेशले चार स्वर्ण र तीन रजत गरी सात पदक जितेको छ।
गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङबाहेकका अन्य आठ जिल्लामा राष्ट्रिय खेलकूदअन्तर्गतका खेल सञ्चालन गरिएको छ। सबै जिल्लामा कम्तीमा एक खेल खेलाउने योजना रहे पनि मौसम, पूर्वाधारलगायतका कारणले तीन जिल्लामा सम्भव नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका ६ हजार एक सय ५७ खेलाडी सहभागी हुँदै छन्। त्यसैगरी प्रशिक्षक, खेल पदाधिकारी र अफिसियल गरी नौ हजार हाराहारीमा प्रतियोगितामा सहभागिता रहने राखेपले जनाएको छ।
२०३८ सालदेखि राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना हुँदै आएको छ। हेरक दुई–दुई वर्षमा राष्ट्रिय खेलकूद हुने भए पनि राजनीतिक तथा विभिन्न कारणले रोकिँदै आएको थियो। आठौैं राष्ट्रिय खेलकूदको साढे तीन वर्षपछि गण्डकी प्रदेशमा अहिले नवौं शुरु भएको हो।