सुरक्षा व्यवस्था मजवुत बनाउन प्रहरी महानिरीक्षक सिंहकाे निर्देशन

काठमाडाैं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा शुक्रबार बिहान निर्देशन दिनुभएको छ । साथै उहाँले काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष र मनिटरिङ कक्षको अवलोकन समेत गर्नुभएको छ । 

निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आआफ्नो ईलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई सुरक्षा व्यवस्था मजवुत बनाउनुपर्ने बताउनुभयो ।

निर्वाचनको सुरक्षा संवेदनशील विषय भएकाले आपराधिक घटना रोकथाम तथा न्यूनीकरणका लागि सुरक्षा योजना अनुसार सर्च अपरेशन बढाई गुण्डागर्दी, घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लवहरू लगाएतमा हुन सक्ने ग्याङफाइटहरूलाई पूर्णरूपमा नियन्त्रण गर्न उहाँले निर्देशन दिनुभयो ।

काठमाडौं उपत्यकाको प्रहरी देशकै रोल मोडेलको रुपमा रहेकाले प्रहरीको आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सवै सेवाग्राहीलाई समान व्यवहार गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

गुण्डा गर्दी लगायतका विभिन्न आपराधिक गतिविधिहरू प्रति प्रहरीले कठोर भई सबैलाई कानूनी दायरामा ल्याउनु पर्ने बताउँदै संगठन र विभागिय नीति बमोजिम कानून सम्वत ढङ्गबाट सम्पादित प्रहरी कारवाहीको जिम्मेवारी आफूले लिने भन्दै निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो । साथै उहाँले प्रहरी कर्मचारीहरूलाई आर्थिक प्रलोभनमा परी गर्न सक्ने नाजायज कार्य क्षम्य नहुने र कठोर कारवाही गरिने बताउनुभयो।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले समसामयिक विषयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उपत्यकाका कार्यालय प्रमुखहरूलाई दिनुभएको निर्देशनलाई अक्षरस पालना गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

निर्वाचनलाई सफल बनाउन उपत्यका निर्वाचन सेल र जिल्ला निर्वाचन सेलले कार्य गरीरहेको जानकारी दिनुका साथै आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसामा शुन्य सहनसिलतामा प्रहरी कारवाहीलाई अगाडी बढाउन र कमी कमजोरीलाई सुधार गर्दै बोली, वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न प्रहरी महानिरीक्षकबाट समय समयमा भएका निर्देशन पालना गरिरहेको र मातहत समेतमा आवश्यक निर्देशन दिइने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरिक्षक तथा सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *