काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि नै सकिएको दाबी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजना भएको नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटी प्रथम बिस्तारित बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताउनुभएको हो ।
पूर्व प्रधानमन्त्री खनालले ६ महिनामा पार्टी राष्ट्रव्यापी बन्नु असाधारण विकास भएको दाबीसमेत गर्नुभयो । उहाँले अहिले नेपालमा वैचारिक रुपले दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवरोध भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री खनालले वर्गीय रुपले दलाल पूँजीवाद सबैभन्दा ठूलो समस्या भएको र त्यसबिरुद्धमा आफ्नो पार्टी लडिरहेको बताउनुभयो ।
उहाँले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाउनुभयो । पूर्व प्रधानमन्त्री खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि बताउनुभयो ।
उहाँले नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई सिट नभएर दुई तीन सिट मात्र ल्याउने दाबी गर्नुभयो ।
पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी गर्नुभयो । उहाँले नेपालको इतिहासमै ६ महिनाभित्रको समयमा अहिलेसम्म कुनै पार्टीले आफूलाई राष्ट्रव्यापी बनाउन नसकेको पनि बताउनुभयो ।