काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक गर्ने भएको छ । सोमबार बिहान साढे १० बजेका लागि घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएपनि अन्तिम समयमा केन्द्रीय कार्यालयले सूचना जारी गरेर घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको हो ।
यसअघि आइतबार बेलुकी ५ बजे पनि घोषणापत्र सार्वजनिक गरिने तयारी थियो। यद्यपि, प्रधानमन्त्री एवं कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा चुनावी कार्यक्रममा व्यस्त भएपछि स्थगित भएको थियो।
‘डिजिटल घोषणापत्र सार्वजनिक गरौँ भनेर तयारी गरेका थियौँ। पछि प्रिन्ट भर्सन नै सार्वजनिक गर्ने भनेर स्थगित गरिएको हो,’ घोषणापत्र तयारी समिति सदस्य गेजा शर्मा वाग्लेले भन्नुभयो ।
वाग्लेका अनुसार अब कांग्रेसले भाइटीकाको भोलिपल्ट घोषणापत्र सार्वजनिक गर्ने भएको छ।