निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्क अनिवार्य गरौं : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुसँग आग्रह गर्नुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज (शनिवार) जनकपुरधाममा आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागीता’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणको खतरा अझै कायम रहेकाले स्वास्थ्य मापदण्डको परिपालना गर्नुपर्ने बताउनुभएको छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिमलाई कम गर्न खोप लगाउने कार्यलाई तीव्र गति दिनुपर्ने औँल्याउनुहुँदै अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा अझै खोप लगाउने दर बढ्न नसकेकाले यसलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

जनतामा मत माग्न जाँदा विकास र समृद्धिका नारा मात्र होइन कोभिड–१९ बारे जोगिने विषयमा जनचेतनासमेत फैलाउन आग्रह गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीबाट जोगिन सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यक रहेको बताउनुभायाे । उहाँले विश्वका कतिपय मुलुकहरुमा अझै कोभिड–१९ सङ्क्रमणका कारण मानवीय क्षति भइरहेकाले नेपाललाई कोभिड–१९ मुक्त घोषणा नगरेसम्म सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us