एजेन्सी । बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्नु भएको छ । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो ।
प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बन्नुभएको छ ।
मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उहाँले चर्को आलोचना खेप्नु परेको थियो । साथै उहाँको कार्यकालमा बेलाइतको मुद्रा अवमूल्यन भएको थियो ।
गत बिहीबार उहाँले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा हुनुहुन्थ्यो। तर बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उहाँ बाहिरिनुभएको थियो।
नयाँ प्रधानमन्त्री सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सर्नुभएका भारतीय मूलका आमाबाबुका सन्तान हुनुहुन्छ। उहाँ हिन्दु धर्मावलम्बी हुनुहुन्छ । अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र सुनकले इन्फोसिसको संस्थापक प्रख्यात अर्बपति व्यापारी नारायण मूर्तीकी छोरी अक्षता मूर्तीसँग विवाह गर्नुभएको छ।