काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले मंसिर ४ को निर्वाचनपछि सत्तारुढ गठबन्धन कायमै रहन्छ भन्नेमा आशंका व्यक्त गर्नुभएको छ ।
सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा महासचिव भुसालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि पनि सत्तारुढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्न नसकिने बताउनु भएको हो । उहाँले सत्तारुढ गठबन्धन निर्वाचनपछि पनि कायमै रह्यो भने आफूहरुले चुनावी घोषणा पत्रमा सार्वजनिक गरेको कुरा त्यही भित्र रहेर कार्यान्वयन गर्ने र नरहे बाहिर बसेर पनि जनताको प्रतिनिधिको रुपमा त्यसलाई कार्यान्वयनका लागि पहल गरिरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
गठबन्धन यही रहने र आफ्नो पार्टी पनि सरकारमा जाने परिस्थिति बन्यो भने पार्टीको नीति, कार्यक्रम र चुनावी घोषणा पत्रका प्रतिवद्धता सरकारमै रहेर कार्यान्वयनका लागि पहल गर्ने महासचिव भुसालको भनाई थियो ।
महासचिव भुसालले आफूहरुले घोषणा पत्रमा पार्टी सरकारमा नरहने परिस्थिति आयो भने पनि जन प्रतिनिधिको हैसियतमा भूमिका निर्वाह गर्नै कुरा उल्लेख गरिएको स्पष्ट पार्नु भयो ।