काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रमुख नेपाली दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुहुने भएको छ ।
उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहान ११ः१० बजे होटल मेरियटमा भेटवार्ता गर्नुहुने तय भएको छ । ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने बताइएको छ । विदेशमन्त्री यीको भ्रमणको अवसरमा हिजो नेपाल र चीनबीच विभिन्न ९ बूँदे द्धिपक्षीय सम्झौता समेत भएको छ ।
यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विदेशमन्त्री यीसँग भेटवार्ता गर्नुहुनेछ । उहाँहरुबीच भेटवार्ता बिहान ११ः४५ बजे हुँदैछ । अध्यक्ष दाहालले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नुहुने बताइएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग विदेशमन्त्री यीको भेट भइसकेको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरी विदेशमन्त्री यीको भ्रमण टोली स्वदेश फर्कने कार्यक्रम छ ।