बाजुराका महिलालाई कोदो टिप्न भ्याइनभ्याइ, हिमाली गाउँमा मागसँगै खेती बढ्दो

बाजुरा । हिमाली गाउँपालिका–६, पाँडीकी महिलाहरू अहिले कोदो टिप्न व्यस्त छन् । असारमा लगाइएको कोदो अहिले पाकेपछि गाउँभरि चटारो छ । पहिल्यैका वर्षहरूमा कोदो गाउँभित्र मात्रै खानका लागि खेती गरिन्थ्यो, तर पछिल्लो समय देशका विभिन्न सहरमा माग बढेपछि स्थानीय किसान यसतर्फ आकर्षित भएका छन् ।

पाँडीमा झन्डै १४० परिवार बसोबास गर्छन् । तीमध्ये अधिकांश परिवारले अहिले कोदो खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । एक परिवारले औसत पाँचदेखि आठ क्विन्टलसम्म कोदो उत्पादन गर्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । हाल गाउँमा करिब एक हजार १६० क्विन्टल कोदो उत्पादन हुने अनुमान गरिएको छ ।

कृषि ज्ञान केन्द्रले कोदोको पोषणात्मक मूल्यबारे किसानलाई जानकारी दिँदै आएको छ । साथै, स्थानीय तहहरूले सरकारी कार्यालयहरूमा खाजाका रूपमा कोदोका परिकारलाई अनिवार्य गरेपछि यसको माग झन् बढेको छ । “पहिला बाटो थिएन, बजार थिएन, खानका लागि मात्रै लगाउँथ्यौं,” पाँडीकी जमुना बोहोराले भनिन्, “अहिले चारैतिरबाट माग आउन थालेपछि खेती पनि बढाएका छौं।”

यहाँको कोदो अन्य ठाउँको तुलनामा स्वादिलो र स्वास्थ्यका लागि लाभदायक मानिन्छ । माग बढेसँगै हिमाली गाउँका किसानले कोदो खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *