वैदेशिक रोजगारी छाडेर ड्रागनफ्रुट खेतीमा सफल: बाँकेको श्रीष परिवार गाउँमै आत्मनिर्भर

बाँके । बाँकेको खजुरा गाउँपालिका–४ एफ गाउँका किसान तिलबहादुर श्रीष मगरले विदेशको रोजगारी छाडेर गाउँमै ड्रागनफ्रुट खेतीमार्फत परिवारलाई आत्मनिर्भर बनाउन सफल भएका छन्।

विगतमा १० वर्ष मलेसियामा बिताएका उनले त्यसमध्ये ६ वर्षभन्दा बढी समय ड्रागन फार्ममा काम गरेर अनुभव जुटाए। सन् २०७३ मा नेपाल फर्कँदा उनले एउटा मात्र ड्रागनफ्रुटको विरुवा ल्याएर आफ्नै बारीमा रोपे। त्यही विरुवाबाट सुरु भएको खेती अहिले उनको जीवनको आधार बनेको छ।

अहिले करिब एक बिघा क्षेत्रफलमा फैलिएको उनको बगैँचामा पत्नी तिलसरा श्रीष मगरसहित परिवारका सदस्य सक्रिय छन्। परिवार खेतीपातीमा जुटेपछि तिलबहादुर बजार व्यवस्थापनमा खटिन्छन्। सुरुवातमा भाटभटेनी सुपरमार्केटमा बिक्री हुने फल अहिले स्थानीय बजार कोहलपुर र घरमै ग्राहक पुग्ने प्रणालीमार्फत विक्री भइरहेको छ।

“ड्रागनले राम्रो फल दिन थालेको छ,” तिलबहादुर भन्छन्, “विदेशमा परिश्रम गरेर पैसा कमाउनेभन्दा घरमै परिवारसँग बसेर कमाउन सकिन्छ भने किन विदेश जानु? अब म फेरि विदेश जाने सोच्दिन।”

विद्युत् पोलमा चढाएर उमारिने यो खेती २५–३० वर्षसम्म निरन्तर उत्पादन दिन सक्ने उनले बताए। एउटा बोटबाट वार्षिक २० किलोसम्म फल उत्पादन हुने गरेको छ। बाँके र तराईका जिल्लामा गर्मी र वर्षा उपयुक्त हुने भएकाले यसको उत्पादन सम्भावना अझै ठूलो रहेको उनको अनुभव छ।

विदेशको पीडादायी श्रम छाडेर आफ्नै गाउँमा परिवारसँगै रमाएर जीवनयापन गर्न सकिने उदाहरणका रूपमा श्रीष परिवारको ड्रागनफ्रुट खेती अन्य किसानका लागि पनि प्रेरणादायी बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *