सुनसरीको झुम्कामा रहेको अर्गानिक फार्म डुबानमा: दुई सय सुँगुर बग्दा ८० लाखको क्षति

सुनसरी । लगातारको अविरल वर्षापछि आएको बाढीले सुनसरीको रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्गानिक कृषि फार्ममा ठूलाे क्षति पुर्‍याएको छ। सर्दु–सेरा खोलाबाट आएको बाढीले फार्ममा रहेका दुई सयभन्दा बढी सुँगुर बगाउँदा करिब ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको सञ्चालक भरत कार्कीले बताएका छन्।

कार्कीका अनुसार फार्ममा करिब ३०० वटा सुँगुर थिए। तर शनिबार रातिको बाढीले ठूला माउ सुँगुरदेखि साना बच्चासम्म गरी २०० भन्दा बढी सुँगुर बगाएको हो। अहिले करिब ७० वटा मात्र बाँकी छन्। तीमध्ये पनि केही घाइते अवस्थामा छन् भने ४० भन्दा बढी बच्चा सुँगुर पानीमा डुबेर मरेका छन्।

“भारी वर्षापछि फार्ममा एक्कासी बाढी पस्यो,” कार्की भन्छन्, “सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हामफाले, हामी पारीपट्टि थियौं, बचाउन सकिएन। ढोका र झाडीमा अड्किएका केही मात्र अहिले बाँकी छन्।”

मलेसियामा तीन वर्ष काम गरेर फर्किएपछि कार्कीले वि.सं. २०७४ मा झुम्का अर्गानिक फार्म स्थापना गरेका थिए। करिब चार बिघा क्षेत्रफलमा फैलिएको फार्ममा १६ जनाले रोजगारी पाउँदै आएका छन्।

सुदूर जोखिममा रहेको फार्म नजिकैको कुखुरा फार्म भने जोगिएको कार्कीले बताए। उक्त कुखुरा फार्ममा करिब ३० हजार कुखुरा छन्।

उनी भन्छन्, “सुँगुर फार्म खोलामै नजिक भएकाले डुबानमा पर्‍यो, कुखुरा फार्म केही पर भएकाले सुरक्षित रह्यो।”

स्थानीय प्रशासनले क्षतिको विवरण संकलन कार्य अघि बढाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *