कोदो रोपाइँमा व्यस्त सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्रका किसान

सुजन वज्राचार्य
संखुवासभा । पूर्वी पहाडी तथा हिमाली जिल्ला सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले किसानहरूलाई कोदो रोप्न भ्याईनभ्याइ छ । जिल्लाका अन्य भूभागमा धान रोपाइँको चटारो चलिरहँदा यहाँका किसानहरू भने कोदो रोपाइँको अन्तिम चरणमा व्यस्त छन् ।

धान फल्ने खेत नहुँदा यहाँको मुख्य बाली कोदो भएकाले यसैमा भरपर्नु पर्ने बाध्यता रहेको स्थानीय पेम्बा नावा बताउनुहुन्छ । भोटखोलाको हटिया, हुङगुङ, छुम्सुर, किमाथाङ्का, चेपुवा, च्याम्ताङ, रिदाक, नामासे लगायतका अधिकांश गाउँमा कोदो बाली लगाउने गरिन्छ । जेठ र असार महिना यहाँका कृषकहरुका लागि कोदो रोप्ने चटारो हुने भएकाले अहिले कोदो रोपाइँ अन्तिम चरणमा पुगेको कृषकहरु बताउछन् ।

चीनसँग सिमाना जोडिएको भोटखोला क्षेत्रमा अन्य बालीको उत्पादन कम हुने भएकाले यहाँका बासिन्दा खाद्यान्नका लागि छिमेकी देश चीन र सदरमुकाम खाँदबारीमाथि निर्भर रहनुपर्छ। चीनमा खाद्यान्न महँगो हुनु, सदरमुकाम खाँदबारी टाढा पर्नु र सडक सञ्जालको अभावले गर्दा भोटखोलाका बासिन्दाले वर्षौंदेखि कठिनाइ भोग्दै आएका छन् ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले रैथाने बाली कोदो पहिलेको तुलनामा मासिदै गएपनि यसको संरक्षणका लागि स्थानिय सरकार लागिपरेको बताउनुभयो । अहिले पनि भोटखोला क्षेत्रमा कोदो संरक्षणका दृष्टिले अन्य ठाउँभन्दा अगाडि रहेको र यसलाई मासिन नदिन कोदो कृषकहरुलाई प्रोत्साहन गरिने अध्यक्ष भोटेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *