ताप्लेजुङमा नयाँ अलैँची प्रतिमन ८८ हजारमा कारोबार : किसान उत्साहित

ताप्लेजुङ । ताप्लेजुङमा नयाँ अलैँचीको मूल्यले किसान उत्साहित भएका छन् । नयाँ फसल बजारमा आउन थालेको र सुरुवातमै आकर्षक मूल्य पाएको कारण किसानहरूमा उत्साह बढेको हो ।

भदौयता बजारमा आउन थालेको नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) ८८ हजार रुपियाँ मा कारोबार हुन थालेको छ । गतवर्षको तुलनामा यसवर्ष सुरुमै प्रतिमन ६ हजार रुपियाँ बढी मूल्य पाएकोले स्थानीय किसान तथा व्यवसायी निकै खुसी भएका छन् ।

अलैँची व्यवसायी सङ्घका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार गतवर्ष सुरुवाती कारोबार प्रतिमन ८२ हजार रुपियाँ मा भएको थियो भने यसवर्ष सुरुको मूल्य नै ८८ हजार रुपियाँ पुगेको छ । उनले यसलाई किसान र व्यवसायीका लागि सकारात्मक संकेतका रूपमा व्याख्या गरे ।

मुख्य सिजनमा अझै मूल्य बढ्ने अपेक्षा

गतवर्ष मुख्य सिजनमा अलैँचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपियाँ पुगेको थियो । ठुलो दाना भएको गुणस्तरीय अलैँची त एक लाख १४ हजार रुपियाँ सम्ममा कारोबार भएको थियो । त्यसैले यसवर्ष पनि मुख्य सिजन (असोज–कात्तिक) मा अझै आकर्षक मूल्य आउन सक्ने अपेक्षा गरिएको छ ।

अहिले जिल्लाको तल्लो भेग अर्थात औल क्षेत्रमा उत्पादन हुने अलैँची बजारमा निस्किन थालेको हो । मुख्य सिजनमा बजारमा अलैँचीको आपूर्ति बढ्ने भएकाले किसान अझै आशावादी बनेका छन् ।

यद्यपि, किसानले यसवर्ष उत्पादन भने घट्ने बताएका छन् । औल क्षेत्रमा मात्रै गतवर्षको तुलनामा उत्पादन करिब आधाले घटेको उनीहरूको भनाइ छ । ताप्लेजुङका नौ स्थानीय तह र ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रमा अलैँची खेती गरिँदै आएको छ । सो क्षेत्रफल बराबरको खेतीबाट गतवर्ष दुई हजार ५३१ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

अलैँची ताप्लेजुङको प्रमुख नगदे बाली भएकाले अधिकांश किसान यसैमा निर्भर छन् । नयाँ उत्पादनले सुरुमै राम्रो मूल्य पाएकोले किसानले यसवर्ष पनि राम्रो आम्दानी हुने आशा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *