काठमाडौँ । मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशत रोपाइँ भएको थियो।
कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ प्रतिशत रोपाइँ भएको छ भने मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ भएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए।
अन्य प्रदेशहरूमा कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत, लुम्बिनीमा ९८.०७ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९४.८३ प्रतिशत र कोशीमा ९४.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
देशभर करिब १३ लाख हेक्टर जमिनमा रोपाइँ भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार मुलुकभर करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य छ। भदौ दोस्रो सातासम्म केही प्रतिशत रोपाइँ अझ बढ्ने अनुमान छ।
धान उत्पादनका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। यहाँ कूल उत्पादनको ७० प्रतिशत र पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ।
आर्थिक वर्ष २०८०–८१ मा ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष स्वदेशमा ६० लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान छ, जसबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने अपेक्षा गरिएको छ।