पश्चिम नवलपरासी । पछिल्लो वर्षाका कारण पश्चिम नवलपरासीका किसानले झन्डै पाँच सय बिघा धान खेतीमा क्षति बेहोर्नु परेको छ। पसाउने बेलामा आएको पानीले धानबाली डुबानमा पर्दा सरावल गाउँपालिका (वडा ५, ६ र ७) का भूजहवा, कुर्थावल र गडौरी क्षेत्रमा तीन सयभन्दा बढी बिघा धान खेती नष्ट भएको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ।
त्यसैगरी पाल्हीनन्दन गाउँपालिका–१ शङ्करपुरमा एक सय ५० बिघा धानबाली पानीमा डुब्दा नष्ट भएको छ। रामग्राम, सुस्ता लगायतका स्थानीय तहमा पनि धानबालीमा आंशिक क्षति पुगेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेका अनुसार “अन्य क्षेत्रमा खासै असर पर्नु भएन, तर दुई पालिकाका केही क्षेत्रमा दाना पसाउने बेलामा आएको पानीले खेतीमा क्षति पुर्याएको छ।”
भारतसँग सिमाना जोडिएका क्षेत्रका खेतमा प्रत्येक वर्ष वर्षाले क्षति गर्ने गरेको छ। पानी निकासको पर्याप्त व्यवस्था नहुँदा खेतमा पानी धेरै दिन जम्मा रहँदा पाक्न लागेको धानबाली नष्ट भएको छ। गतवर्ष जिल्लामा ९१ हजार ५०२ मेट्रिक टन धान उत्पादन भएको थियो। यसवर्ष सामान्य परिस्थितिमा उत्पादनमा ठूलो गिरावट नहुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ।
हाल जिल्लामा २० हजार ४८७ हेक्टरमा धान खेती हुँदै आएको छ भने कुल खेतीयोग्य जमिन ३९ हजार ४०७ हेक्टर रहेको नापी विभागको तथ्याङ्कले देखाउँछ। वर्षाका बावजुद समयमा पानी र मल उपलब्ध भएपछि अधिकांश क्षेत्रहरूमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।