पिरो अकबरेबाट मीठो आम्दानी गर्दै इलामका किसान

इलाम । हेर्दा जिब्रो जलाउने जस्तो पिरो, तर आम्दानी भने निठै मीठो ! इलामका सूर्योदय नगरपालिका–१२ आठघरेका किसान मदन राईले अकबरे खेतीबाट मात्रै गत वर्ष करिब २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

राईका अनुसार, अकबरेको दाना, बिउ र खुद्रा बिक्री गरेर सो स्तरको आय आएको हो। उहाँले भन्नुभयो, “सात लाख रुपैयाँ दाना, १६ लाख बिउ र करिब दुई लाख खुद्रा बिक्री भयो। कुल जम्मा २५ लाख पुग्यो।”

राईले प्रतिकिलो ३५ देखि ५५ हजार रुपैयाँका दरमा ४० किलो बिउ मात्र बेच्नुभयो। अझै ३० किलो बिउको माग अधुरै छ। विशेषगरी विदेश जाने नेपालीहरूले इलामको अकबरे माग गरिरहेका छन्।

यस्तै, सन्दकपुर–२ सुलुबुङका अर्का किसान मनिष लिम्बूले पनि अकबरे खेतीमार्फत उल्लेखनीय कमाइ गर्दै आएका छन्। गत वर्ष उनले २० क्विन्टल अकबरे बिक्री गरेर लाखौँ आम्दानी गरेका थिए। यस वर्ष ४० रोपनी जमिनमा खेती गर्दै लिम्बूले कम्तीमा ६० क्विन्टल उत्पादन हुने अपेक्षा व्यक्त गर्नुभयो।

स्थानीय बजारमै प्रतिकिलो ४०० रुपैयाँभन्दा तल नझर्ने अकबरे भारत निर्यात हुने गरेको छ। लिम्बू भन्नुहुन्छ, “खुद्रा र थोक दुवै बजारमा माग बलियो छ, उत्पादन जति भए पनि बिक्री हुन्छ।”

सुलुबुङकै लीला गड्तौला पनि सफल अकबरे किसान हुन्। उहाँले गत वर्ष साढे सात सय किलो अकबरे बेच्नुभयो। यस वर्ष १,५०० बोट लगाएकोमा केही रोग देखिए पनि बजारको समस्या छैन।

कृषि विज्ञ डा. योगेन्द्रमान श्रेष्ठका अनुसार, अकबरे खुर्सानीमा भिटामिन C, A, E र एन्टिअक्सिडेन्ट भरपूर हुन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने र पाचन प्रणालीलाई सुदृढ बनाउने भएकाले यसको माग निरन्तर बढ्दो छ।

इलामका विभिन्न गाउँ — पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, गोदक, कन्यामलगायतमा अहिले १८० हेक्टर जमिनमा व्यावसायिक अकबरे खेती भइरहेको छ। गत वर्ष जिल्लाबाट मात्र १० हजार ८० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। यस वर्ष उत्पादन झन् बढ्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *