रौतहट। असोजको अन्त्यतिर परेको भीषण वर्षा र हावाहुरीले रौतहटका किसानको वर्षभरको पसिना मेटाएको छ। कृषि ज्ञान केन्द्र गौरका अनुसार, यो वर्ष जिल्लाभर रोपिएको कुल ३६ हजार हेक्टर धान क्षेत्रफलमध्ये करिब १५ प्रतिशत धानबाली पूर्ण रूपमा नष्ट भएको छ। क्षतिग्रस्त क्षेत्रफल १६ हजार हेक्टर बराबर पुगेको केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले जानकारी दिए।
गत असोज १७ र १८ गते लगातारको वर्षा र चर्को हावाहुरीले केवल धान मात्र होइन, अन्य बालीहरूमा पनि व्यापक क्षति पुर्याएको छ। कुर्मीका अनुसार, १.३१ प्रतिशत हेक्टर क्षेत्रफलको उखु, ४ सय हेक्टर तरकारी, २ सय हेक्टर केरा, र २.३२ प्रतिशत हेक्टर फलफूल बालीमा क्षति पुगेको छ। बागमती, लालबकैया, चादी, झाझ र लमाहा नदीहरूमा आएको बाढीले विशेष गरी धानबालीमा ठुलो असर पुर्याएको बताइएको छ।
समयमै वर्षा नपर्दा रोपाइँ ढिलो भएका किसानहरू अहिले विपरीत परिस्थितिको अर्को प्रहार भोगिरहेका छन्। धानमा बाला लाग्ने बेला आएको वर्षाले बाली लडाएर नष्ट गरिदिँदा किसान थप निराश बनेका छन्। किसान रामनाथ पटेल भन्छन्, “यो समय धान पक्ने बेला हो, तर भीषण वर्षाले सबै भत्काइदियो। अब हाम्रो वर्षभरको परिश्रम पानीमा बग्यो।”
रौतहटका अधिकांश गाउँहरूमा किसानले उखु, तरकारी, केरा र फलफूलमा समेत ठूलो घाटा व्यहोरेका छन्। उनीहरूले अहिले राहत र क्षतिपूर्तिका लागि स्थानीयदेखि संघीय सरकारसम्मको ध्यानाकर्षण गराएका छन्। किसानहरूको माग छ—तीनै तहका सरकारले तत्काल क्षतिको मूल्यांकन गरी राहत र पुनःस्थापना कार्यक्रम अघि बढाओस्।
कृषि क्षेत्रलाई प्राकृतिक विपद्बाट जोगाउने दीर्घकालीन रणनीति नबनेसम्म यस्ता घटनाले किसानलाई प्रत्येक वर्ष ऋण र निराशाको चक्रमा फसाइरहने स्पष्ट देखिन्छ।