गुल्मीको नयाँगाउँमा परिश्रमको मिसालः अकबरे खुर्सानीले लेख्दै सफलता कथा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ४३ वर्षीय चन्द्र ताम्राकारले सुरु गरेको अकबरे खुर्सानी खेती अहिले जिल्लाकै आकर्षण बनेको छ। ७० रोपनी बारीमा फैलिएको बाली पाक्दै जाँदा अहिले उनको फर्ममा कामदारलाई खुर्सानी टिप्न भ्याइनभ्याई छ।

ओमानमा पानीजहाजको जागिर गर्दै आएका ताम्राकार छुट्टीमा घर फर्किएपछि आफ्नो ओख्रेनी कृषि तथा पशुपंक्षी फर्मको हेरचाह आफैं गर्छन्। बजार व्यवस्थापनदेखि उत्पादनसमेतको जिम्मा उनी र उनकी श्रीमती मिना ताम्राकारले मिलेर सम्हालिरहेका छन्। अहिले फर्ममा स्थायी सात जना र १५ देखि २० मौसमी कामदार कार्यरत छन्।

गत वर्ष आठ हजार बोट अकबरे खुर्सानी लगाएका ताम्राकारले यसपटक संख्या बढाएर ३० हजार बोट पुर्‍याएका छन्। ५० क्विन्टल रातो अकबरे खुर्सानी पहिले नै बिक्री भइसकेको छ भने २०० क्विन्टल उत्पादनको लक्ष्य लिइएको छ। भदौदेखि नयाँ खुर्सानी पाक्न थालेपछि खेतमा लहभरी कामदार व्यस्त छन्।

खुर्सानीसँगै ताम्राकारको फर्ममा ४० क्विन्टल टमाटर, बन्दा, फुलगोभी, ३० क्विन्टल लौका र १५ क्विन्टल करेला, काँक्रा र धनियाँ पनि उत्पादन भएको छ। गत वर्ष उनले २५० रुपैयाँ प्रतिकिलोका दरले १२ लाख रुपैयाँ बराबरको खुर्सानी बिक्री गरेका थिए।

सुन्तला र केरा खेतीदेखि बाख्रा–भैसी पालनसम्म विविध व्यवसायमा सक्रिय ताम्राकारले गाउँ फर्कँदा ५०० बोट सुन्तला र ३०० बोट स्थानीय केरा पनि रोपेका छन्। उनी भन्छन्, “बसाइँसराइँले गाउँ खाली हुँदैछ, तर कृषि नै हाम्रो भविष्य हो।”

उनको फर्ममा मासिक १२ देखि २५ हजार रुपैयाँ कमाउने कामदारहरू कार्यरत छन्। व्यावसायिक कृषि प्रोत्साहनका लागि धुर्कोट गाउँपालिकाले संविधान दिवसको अवसरमा उनलाई ‘सहिद जेदुराम भण्डारी वर्ष उत्कृष्ट कृषि पुरस्कार’बाट सम्मान गरेको छ।

गाउँपालिका प्रमुख भुपाल पोख्रेलका अनुसार ताम्राकार दम्पतीको परिश्रमले गाउँ मात्र होइन, संपूर्ण जिल्लाका किसानका लागि प्रेरणाको स्रोत बनेको छ। गाउँपालिकाले आगामी दिनमा पनि सीप, प्रविधि र अनुदानमार्फत यस्ता किसानलाई थप प्रोत्साहन दिने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *