गाउँमै बसेर विदेशभन्दा दोब्बर आम्दानी : तनहुँका बगालेको प्रेरक सफलताको कथा

तनहुँ। “परदेशमा वर्षौं पसिना बगाएँ, तर अब गाउँमै मेहनत गर्दा विदेशको भन्दा दोब्बर आम्दानी भइरहेको छ,” व्यास नगरपालिका–१३ बेलबासका देवीप्रसाद बगालेको यो भनाइ आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ।

कुवेतमा ६ वर्ष र मलेसियामा ४ वर्ष बिताएर फर्किएका बगाले अहिले गाउँमै गाई–बाख्रापालन व्यवसायबाट मासिक एक लाख रुपियाँभन्दा बढी कमाइ गर्दै आउनुभएको छ। उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “विदेशमा महिनामा ५० हजार कमाउँदा पनि परिवारको साथ र सुख पाउन सकिनँ। अब यही माटोमा मेहनत गर्दा वास्तविक लाभ मिलिरहेको छ।”

बगालेले १८ वटा उन्नत जातका जर्सी र होलस्टेन गाई र केही बाख्रा पाल्दै आउनुभएको छ। दैनिक झण्डै ९० लिटर दुध उत्पादन हुँदै आएको छ, जसबाट मासिक डेढ लाख रुपियाँभन्दा बढीको बिक्री हुन्छ। खर्च कटाएर करिब एक लाख रुपियाँ बचत हुने उहाँको भनाइ छ।

व्यवसायमा श्रीमती गौरी बगाले निरन्तर साथ दिनुहुन्छ। आमा शिवमाया बगालेले पनि छोरा गाउँमै स्थायी बसेकाले खुसी व्यक्त गर्नुभयो, “पहिले विदेशमा हुँदा बिरामी भयो कि भन्ने चिन्ता रहन्थ्यो, अब छोरा आफ्नै आँखा अगाडि छ, मन शान्त छ।”

बगालेले गाई र बाख्रापालनका लागि १३ रोपनी आफ्नै र ७ रोपनी भाडाको जमिनमा घाँस खेती गर्दै आउनुभएको छ। उत्पादनमा आधारित प्रोत्साहनको रूपमा व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारबाट वार्षिक एक लाख २० हजार रुपियाँको अनुदान पनि पाउनुभएको छ।

उहाँले भन्नुभयो, “सरकारले उत्पादनमा आधारित अनुदान दिन थालेपछि वास्तविक किसान लाभान्वित भएका छन्। अनुदान पाउन व्यवसाय सुरु गर्ने र पछि छोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।”

गाउँमै बाँझो जमिन सदुपयोग गरेर बगालेले कमाएको यो सफलता गाउँमै रोजगारी र समृद्धिको उदाहरण बनेको छ। गोरखापत्र अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *