गोरखा। गोरखाको पालुङटार नगरपालिकाले गाउँका किसानलाई उत्पादनमा प्रोत्साहित गर्दै र स्थानीय कृषि उपजलाई गाउँमै खपत गर्न सकिने उद्देश्यसहित नियमित हाटबजार सञ्चालनमा ल्याएको छ। पालुङटार–४ बाह्रपिर्केमा सुरु गरिएको हाटबजारले पहिलो दिनमै करिब ६ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गरेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका कृषि शाखा प्रमुख संकल्प न्यौपानेका अनुसार हाटबजार हरेक बिहीबार सञ्चालन हुनेछ। यसको लागि पालिकाले विशेष भौतिक संरचना निर्माण गरी २० भन्दा बढी स्टल राखेर औपचारिक रूपमा हाट सुरु गरेको हो। न्यौपानेले भने, “पहिलो दिन सबै स्टल भरिएका थिए र बाहिर पनि किसानहरूले आफ्ना उत्पादन प्रदर्शन गरे।”

हाटबजारको उद्देश्य किसानलाई उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै स्थानीय बजारमा उनीहरूको उत्पादनको माग र मूल्य सुनिश्चित गर्नु हो। पालिकाले दुई रोपनीभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिने नीति अघि सारेको छ। साथै, बजारमा बिक्री नभएका उत्पादनलाई पालिकाले २५ प्रतिशत कम दरमा खरिद गरी अन्य बजारमा पठाउने योजना पनि घोषणा गरेको छ।
कृषि ढुवानीका लागि पालिकाले “कृषि एम्बुलेन्स” समेत सञ्चालनमा ल्याएको छ, जसले उत्पादन खेतबाट बजारसम्म पुर्याउन सहयोग पुर्याउनेछ।

नगरपालिकाले गाउँलाई कृषि उत्पादनका विभिन्न पकेट क्षेत्रमा विभाजन गरेको छ। वडा नं. ६ लाई अमिलो जात (सिट्रस) पकेट क्षेत्र, वडा नं. ३ लाई आलु पकेट क्षेत्र, वडा नं. १ र ९ लाई धान पकेट क्षेत्रका रूपमा पहिचान गरिएको छ। त्यस्तै वडा नं. ७, ८, ९ र ४ लाई दूधमा आत्मनिर्भर वडा घोषणा गरिएको छ भने वडा नं. ६, ७ र ८ लाई लिची ब्लकको रूपमा विकास गर्ने योजना अघि बढाइएको छ।
कृषि शाखा प्रमुख न्यौपानेका भन्छन् , “हाम्रो उद्देश्य किसानको उत्पादनलाई गाउँमै मूल्य दिलाउने हो—अब किसानले उत्पादन बेच्न बजार धाउनुपर्दैन, बजार नै गाउँमा आइपुगेको छ।”