हेटौंडाको जनप्रिय क्याम्पसबाट कृषि शिक्षामा प्राविधिक उत्पादन गर्ने लक्ष्य

हेटौंडा । कृषि शिक्षामा उपमहानगरकै लगानीमा उत्कृष्ट प्राविधिक उत्पादन गर्ने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको सहयोगमा स्थापना भएको हेटौंडा जनप्रिय क्याम्पसको पहिलो सभा सम्पन्न भएको छ ।

सभाको अध्यक्षता नगर प्रमुख मीनाकुमारी लामाले गर्दै क्याम्पसका हालसम्मका उपलब्धि तथा आगामी योजनाबारे प्रस्तुत गर्नु भयो । उहाँले ४७ जना विद्यार्थी भर्ना भई कृषि शिक्षाको डिप्लोमा कक्षा सञ्चालन भइसकेको र यसले कृषिक्षेत्रमा ठुलो योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको छ । यसले हेटौंडा उपमहानगरलाई शैक्षिक केन्द्र (हब) बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रथम सभाको उद्घाटन प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद तथा संसदको पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले गर्नुभएको हो । उहाँले कृषि शिक्षामा स्थानीय तहको लगानी सकारात्मक कदम भएको उल्लेख गर्दै यसबाट उत्पन्न प्राविधिक जनशक्ति देशको कृषि क्षेत्रलाई सशक्त बनाउन उपयोगी हुने धारणा राख्नुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *